तोरीखोला होमस्टेको आतिथ्य : आधारातसम्म जागै बसेर पाहुनाको सत्कार

रामबहादुर थापा, पोखरा न्यूज -०७, मंसिर । साँझ छिपिँदै थियो । कलाकार, पत्रकारलगायत घरेलु पाहुना तोरीखोला छिरे । गाउँलेले स्वागतद्वारमा सेतो अक्षताको टीका लगाइदिए, माला पहिराए अनि भजन गाउँदै सामुदायिक भवन पुर्याए ।

बुधबार दिउँसैदेखि तोरीखोला गाउँ बेग्लै सुरसारमा थियो । पाहुनाको सत्कारका लागि स्थानीय आतुर थिए । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीस्थित गाउँ त्यो दिन आधारातसम्म जागै बस्यो । तोरीखोला सामुदायिक घरवास (होमस्टे) पुगेका पाहुना खुलेर रमाए, तनाव बिर्सिए । पदमार्ग हुँदै सामुदायिक भवन पुगेका पाहुनालाई गाउँलेले ‘सगुन’ चखाए । संस्कृति देखाए । कोदोको सेल रोटी, दही, मकै, भट्ट, सिन्की, मुला र गेँडागुडीको अचार टक्राए । पाहुनले स्वाद मानेर खाए । स्थानीय महिला समूहले ‘घुम्टे साइँला’ को लयमा गीत गाए । थाली नाच नाचे ।

सामुदायिक भवनमा सत्कारसहित ‘सगुन’ खुवाउने कार्यक्रमपछि पाहुना घरवासमा बाँडिए । त्यहीँ रात बिताएर भोलिपल्ट फर्के । तोरीखोलाका पाँच घरमा घरवास सेवा छ । एक रातमा कम्तीमा २५ जना पाहुनाको क्षमता छ । गत महिनादेखि व्यवस्थित रुपमा घरवास शुरु गरिएको हो । बुधबार कलाकारसहितका पाहुना आउने भएपछि गाउँलेले विशेष तयारी गरेका थिए । स्वागतद्वार र रङ्गीचङ्गी ध्वजापतकाले गाउँ सजिएको थियो । सोही अवसरमा इन्द्रेणी समूहले मौलिक दोहोरीगीतको छायाङ्कनसमेत गर्यो । लोकदोहोरीमा स्थानीयले नाचेर, गाएर साथ दिए ।

घरवासको प्रवर्धनका लागि सञ्चालक समिति र वडा कार्यालयले छायाङ्कनको तारतम्य मिलाएका थियो । घरवासबाट गाउँलाई चिनाउने योजना रहेको सञ्चालक समितिका अध्यक्ष कुमार घर्तीमगरले बताए  । “पर्यटकलाई हाम्रो मौलिकपन र पहिचानमा रमाउने वातावरण बनाउँदैछौँ”, उनले भने ।

 

थप १० घरमा घरवास सञ्चालनको योजना रहेको अध्यक्ष घर्तीको भनाइ छ । कूल ६३ घरधुरी रहेको तोरीखोला मगर बाहुल्य बस्ती हो । स्थानीय उत्पादन, कला र संस्कृतिले तोरीखोला अरुभन्दा भिन्नै छ । प्रत्येक दिन बेग्लाबेग्लै खानाका परिकार बन्ने घरवास सञ्चालक सीता पुनले बताए ।

उनका अनुसार पर्यटकले खाना, खाजासहित एक रात बिताएको रु १२ सय तिर्नुपर्छ । पेय पदार्थको भने अतिरिक्त शुल्क लाग्छ । खानामा मकैको आटो, कोदोको ढिँडो, रोटीजस्ता परिकार बन्छन् । गाउँमै उत्पादित माछामासु, तरकारी, गेँडागुडी, आलु आदि उपलब्ध गराइने घरवास सञ्चालक बताउँछन् ।

मगर समुदायमा प्रचलित कला, संस्कृति पनि तोरीखोला घरवासमा आकर्षण हुन् । सोरठी, कौडा, थाली नाच, भजन, झ्याउरेगीतलगायत मौलिक संस्कृतिले आगन्तुकलाई लोभ्याउँछ । घरवासबाट गाईघाट झरना, निलुवा, शिवधुरी, गलकोट दरबार, सहस्रधारालगायत नजिकका पर्यटकीय गन्तव्यस्थल पुग्न सकिन्छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गबाट नजिकै रहेकाले तोरीखोला आउजाउ गर्न पनि सहज छ । लमजुङको काउलेपानी र स्याङ्जाको सिरुबारी घरवासको भ्रमणपछि तोरीखोलामा घरवासको योजना बनेको वडासदस्य भक्तबहादुर घर्तीमगरले बताए ।

“भ्रमणपछि घरवास भन्ने यस्तो हुँदो रैछ भन्ने सिकियो”, उनले भने, “हाम्रो गाउँमा पनि सम्भावना छ भन्ने देखेपनि अघि बढ्यौँ ।” घरवासका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा रु दश लाख अनुदानसमेत उपलब्ध गराएको थियो । उक्त बजेटबाट गाउँमा सौर्यबत्ती जडान, इन्टरनेटलगायत सेवा, सुविधा थप गरिएको छ ।

तोरीखोलामा घरवाससँगै ‘नमुना बस्ती’ योजना पनि सञ्चालनमा रहेको छ । गलकोट नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा रु २५ लाख बजेट नमूना बस्तीका लागि छुट्टिएको छ । उक्त योजनाबाट पदमार्ग, सडक, खानेपानी, सरसफाइलगायतका क्षेत्रमा काम भइरहेको छ । “यो वर्ष नाली निर्माण र गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउँदैछौँ”, वडाध्यक्ष हिमबहादुर भण्डारीले भने, “नमूना बस्ती नगरको क्रमिक योजनामा छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button