स्याङ्जामा निःशुल्क गर्भपतन गराइने

पोखरा न्यूज – २५, मंसिर ।  स्याङ्जाका बीस स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन् । पाँच नगरपालिका र छ गाउँपालिकासहित ११ स्थानीय तह रहेको स्याङ्जाका बीस स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताए ।

“तालीम प्राप्त चिकित्सक तथा नर्सद्वारा गरिने गर्भपतनलाई सुरक्षित मानिन्छ” कार्यालय प्रमुख शर्माले भने, “त्यसका लागि जिल्लाका विभिन्न स्थानमा २० वटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् भने त्यहाँ तालीम प्राप्त चिकित्सक तथा नर्सहरुले सेवा दिँदै आउनुभएको छ ।”

विगतका वर्षहरुको तुलनामा जिल्लामा सुरक्षित रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको कार्यालय प्रमुख शर्माले बताए । सूचीकृतबाहेक जिल्लाका अन्य निजी क्लिनिकमार्फत असुरक्षित गर्भपतन गराउने क्लिनिकलाई विगतमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनपछि कारवाही गरिएकोले पनि सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको कार्यालय प्रमुख शर्माले बताए ।

गर्भ निरोधका साधनको प्रयोगमा विस्तारै पहुँच बढ्दै जानु, त्यसबारे चेतनाको स्तर वृद्धि हुनु, जिल्लाका पायक पर्ने स्थानका स्वास्थ्य संस्थामा दिइने सेवा प्रभावकारी र गोपनीय हुनुले सुरक्षित गर्भपतन गराउने बढेको बताइएको छ ।

स्याङ्जाका ११ पालिकाका २० वटा स्वास्थ्य संस्थाका पाँच वटा स्वास्थ्य संस्थामा १२ हप्तासम्मको र पन्ध्र वटामा नौ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालनमा रहेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाअन्तर्गत चण्डीभञ्ज्याङ, बिर्घा र श्रीकृष्णगण्डकी स्वास्थ्य चौकी, हरिनास गाउँपालिकाका क्याक्मी, मग्याम चिसापानी र राम्चे सामुदायिक स्वास्थ्य एकाइ, आँधीखोला गाउँपालिकाका पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र र चिलाउनेबास स्वास्थ्य चौकी, फेदीखोला गाउँपालिकाको फेदीखोला स्वास्थ्य चौकी, अर्जुनचौपारी गाउँपालिकाको अर्जुनचौपारी स्वास्थ्य चौकी, बिरुवा गाउँपालिकाको बिरुवा स्वास्थ्य चौकी रहेका छन् ।

वालिङ नगरपालिकाका  गह्रौं घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र र केवरेभञ्ज्याङ स्वास्थ्य चौकी, गल्याङ नगरपालिकाका मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र र तुलसीभञ्ज्याङ स्वास्थ्य चौकी, भीरकोट नगरपालिकाका कालिकाकोट र खिलुङ देउराली स्वास्थ्य चौकी, चापाकोट नगरपालिकाका चापाकोट अस्पताल र साँखर स्वास्थ्य चौकी र पुतलीबजार नगरपालिकाको जिल्ला अस्पताल स्याङ्जामा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ ।

जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पताल, गह्रौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ, पञ्चमुल स्वास्थ्य केन्द्र र मालुङ्गा स्वास्थ्य केन्द्र गरी पाँच स्वास्थ्य संस्थामा १२ हप्तासम्मको अनिच्छित गर्भपतन र बाँकी रहेका १५ वटामा नौ हप्तासम्मको सुरक्षित गर्भपतन गराइने जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

दुई वटा स्वास्थ्य संस्था सूचीकृत रहेको वालिङ नगरपालिकाको तथ्याङ्कलाई हेर्ने हो भने तुलनात्मकरुपमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढेको छ । वालिङ नगरपालिकाकोगह्रौं  घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र र केवरेभञ्ज्याङ स्वास्थ्य चौकीबाट आव २०७५/७६ मा ४ सय ८० जना, २०७४/७५ मा ३ सय ४९ जना र २०७३/७४ मा ३ सय ५ जनाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएका वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए ।

“आईपास नेपालको सहयोगमा विगत तीन वर्षदेखि निःशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गरिएको छ” शाखा प्रमुख पाण्डेले भने, “जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सरोकारवाला पक्षसँग अभिमुखीकरण, अन्तरक्रियात्मक कार्यक्रम, छलफल गर्नुका साथै स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सूचना राखेका छौँ जसले गर्दा पनि सेवा प्रभावकारी बन्दै गएको छ ।”

सूचीकृत स्वास्थ्य संस्थाबाहेकका निजी क्लिनिक तथा जिल्ला बाहिरका अन्य स्वास्थ्य संस्थामा गएर असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या यकिन नभएपनि रोक्न भने नसकिएको शाखा प्रमुख पाण्डेको भनाइ थियो । “विशेष गरी सुरक्षित गर्भपतन गराउने उमेर समूहमा २० देखि ४० वर्षका महिलाको सङ्ख्या धेरै छ” शाखा प्रमुख पाण्डेले भने । असुरक्षित गर्भपतनलाई घटाउने र महिलालाई आवश्यक परेको सेवाको पहुँच बढाउने उद्देश्यसहित आईपास नेपालले स्थानीय सरकारसँग सहकार्य गर्दै आएको आईपास नेपाल गण्डकी प्रदेश संयोजक थमकुमारी कुँवरले बताइन।

“इच्छा नहुँदा नहुँदै पनि रहेको गर्भलाई सुरक्षित तबरबाट गर्भपतन गराउन सकेको खण्डमा महिलामा जटिलता तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने थिएन”, प्रदेश संयोजक कुँवरले भनिन, “सुरक्षित गर्भपतनका क्षेत्रमा जनचेतना फैलाउने गरी आईपास नेपालले स्याङ्जासहित गण्डकी प्रदेशका चार वटा जिल्लामा यो कार्यक्रम सञ्चालनका लागि सहयोग गर्दै आएको छ ।” स्थानीय सरकारले जतिसक्दो छिटो अपनत्व महसुस गर्नुहुन्छ त्यति नै छिटो सुरक्षित गर्भपतन सेवा थप प्रभावकारी र दिगो हुने दाबी प्रदेश संयोजक कुँवरको भनाइ थियो ।

केही स्थानीय तहले आफ्नै स्रोतसाधन तथा व्यवस्थापनमा पनि सुरक्षित गर्भपतन सेवालाई थप विस्तार गरेका छन् । वालिङ नगरपालिकाले केवरेभञ्ज्याङ स्वास्थ्य चौकी, गल्याङ नगरपालिकाले तुलसीभञ्ज्याङ स्वास्थ्य चौकी, भीरकोट नगरपालिकाले खिलुङ देउराली स्वास्थ्य चौकी, कालीगण्डकी गाउँपालिकाले चण्डीभञ्ज्याङ स्वास्थ्य चौकी र हरिनास गाउँपालिकाले राम्चे सामुदायिक स्वास्थ्य एकाइमार्फत सेवा प्रदान गरिरहेका छन् ।

त्यस्तैगरी गतवर्ष र यसवर्ष गरी १२ जना सेवा प्रदायकलाई सुरक्षित गर्भपतन तालीमका लागि स्थानीय तहले बजेट विनियोजन गरेका थिए । अनिच्छित गर्भावस्थाको न्यूनीकरण गर्दै सुरक्षित गर्भपतन सेवा प्रदान गर्नका लागि सचेतनामूलक कार्यक्रमहरु टोल टोलमा पुर्याउन आवश्यक रहेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

“नगरका महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, निजी औषधि बिक्रेता, किशोर किशोरी तथा अन्य सरोकारवाला पक्षसँग छलफल एवं अन्तरक्रिया आवश्यक छ” नगरप्रमुख खाँणले भने, “नगरभित्र रहेका १७ वटै स्वास्थ्य संस्थाबाट सेवा दिने तयारी भएको छ ।”

गैरकानूनी रुपमा औषधि बिक्री वितरण गर्ने र असुरक्षित गर्भपतन गराउदा महिलाको स्वास्थ्यमा जटिल समस्यासमेत देखापर्ने भएकाले औषधि पसलको अनुगमन, निरीक्षण गरिने नगरप्रमुख खाँणले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button