पोखरामा पनि भित्रियो राइड सेयरिङ सेवा, सरर नेपालमार्फत अब घर-घरमै ट्याक्सी !

रेजिना कटुवाल, पोखरा न्यूज – २६, मंसिर । काठमाडौंमा निकै सफल मानिएको राइड सेयरीङ सुविधा अब पोखरबाट पनि सञ्चालित हुने भएको छ । काठमाडौं भित्र मात्र सीमित रहेको उक्त सुविधालाई टेक फर नेपाल प्राइभेट लिमिटेडले पोखरा भित्र्याएको हो । सरर नेपालको नामबाट सञ्चालन हुने यस सेवामार्फत अब पोखरेलीले आफ्नो मोबाइलबाटै सहजै आफ्नो यात्राको बन्दोबस्त गर्न सक्नेछन् ।

काठमाडौंमा सञ्चालन गरिएका टुटल र पठाओ जस्तै राइड सेयरिङ सेवा सरर नेपालले अब घर मै बसि बसि वा आफू रहेको कुनै पनि स्थानबाट आफू वा आफ्ना आफन्तका लागि गन्तव्यमा पुर्याउन यातायातको व्यवस्था गर्न सकिनेछ । सरर नेपालमार्फत पोखरामा प्रदान गरिने यातायातका माध्यमहरु भने मोटरसाइकल वा ट्याक्सी हुनेछ । बढ्दो टेक्नोलोजीको उपयोगलाई काठमाडौंमा मात्रै सीमित नराखी देशैभरी फैलाउन सरर नेपाललाई पोखरामा भित्र्याइएको टेक फर नेपालका डाइरेक्टर तथा सरर नेपालका अपरेसन हेड सन्तोष कुमार बिमलीले बताए ।

कसरी प्रयोग गर्ने ?

सरर नेपालमा आबद्ध हुन चाहनेले सबैभन्दा पहिले गुगलको प्ले स्टोर वा एप्पलको एप स्टोरबाट सरर नेपाल एप डाउनलोड गर्नु पर्नेछ । सरर नेपाल एप सेवाग्राही र सेवा प्रदायकका लागि छुट्टाछुट्टै हुनेछ । सेवाग्राहीले SARARA NEPAL तथा सेवा प्रदायकले SARARA CAPTAIN नामक एप्लिकेसन डाउनलोड गरेर अनलाइन दर्ता गरेपश्चात यस सेवा लिन र दिन सकिनेछ । सरर नेपालमा आबद्ध सेवा प्रदायकलाई क्याप्टेन भनिनेछ । क्याप्टेन बन्न भने चालक एप डाउनलोड गरेर आफ्नो सवारीचालक प्रमाणपत्र, सवारीसाधनको तस्वीर, ब्लुबुक र नम्बर प्लेटको तस्वीर राखी दर्ता गर्नुपर्नेछ ।

कस्ता छन् फाइदा ?

सरर नेपालका सेवाग्राहीले सरर नेपालमार्फत सेवा लिँदा भाडामा पारदर्शिता, पुग्ने ठाउँसम्मको लोकेशन, अग्रिम बुकिङ, नियमित यात्रुका लागि सस्तो प्याकेजजस्ता फाइदा उठाउन सक्नेछन् । त्यस्तै राइड लेटर सुविधा मार्फत सेवाग्राहीले आरामले पछिका लागि यात्राको बन्दोबस्त गर्न सक्नेछन् ।

त्यस्तै सरर नेपालका सेवा प्रदायकले सरर नेपाललाई न्युनतम १० प्रतिशत शुल्क तिरी वा कम्पनीले निर्धारण गरेको निश्चित रकम तिरेर फ्री सिम, फ्री डाटा, फ्री भोइस, फ्री बाइक सर्भिसिङजस्ता फाइदाहरु लिन सक्नेछन् । सरर नेपालले आफ्नो सवारीसाधन र लाइसेन्स भएका जोकोहीलाई सहजै रोजगारीको अवसरसमेत प्रदान गर्ने कम्पनीले बताएको छ ।

कम्पनीले चालक तथा यात्रुको सुरक्षाका लागि बिमाको व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी गराएको छ भने हरेक यात्राबाट १ रुपैयाँ सामाजिक कार्यका लागि छुट्टाइने पनि कम्पनीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button