पोखरामा ‘उ मरेकी छैन’ (फोटो फिचरसहित)

आर.आर. पौडेल, पोखरा न्यूज – २७, मंसिर ।  पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन हुँदैछ । पौष ४ गतेबाट मञ्चन हुने यो नाटकका कलाकार यतिबेला रिहर्सलमा व्यस्त छन् । यो नाटकलाई न्यारेटर समुहले मञ्चन गर्न लागेको हो । न्यारेटर समुह पोखरामा नाट्य क्षेत्रमा अगाडी बढ्न भर्खरै बनेको समुह हो । यो समुहको आयोजनामा पोखरामा नाटक सम्बन्धि कार्यशाला भइसक्यो । सोही कार्यशालामा सहभागी भएकाहरु मिलेर यो नाटकलाई मञ्चन गर्न खोजेका छन् ।

नाट्य सम्राट बालकृष्ण समले लेखेको यो नाटकलाई नाट्य रुपान्तरण, डिजाइन तथा निर्देशन चे शंकरले गर्दैछन् । यो धार्मिक नाटक हो । चे शंकरले कार्यशालामा पनि सहजिकरण गरेका थिए । यो नाटक मञ्चन पश्चात पोखरेली रंगमञ्चमा नाट्य क्षेत्रमा अगाडी बढ्ने नयाँ समुह स्थापित हुनेमा उनको विश्वास छ । यसअघि तिर्खा नाटक उनको परिकल्पना र निर्देशनमा पोखरामा मञ्चन भएको थियो ।

पहिलोपटक सन् २०१२ मा ‘इलुजन’ नाटक निर्देशन गरी नाट्य क्षेत्रमा डेब्यु गरेका चे शंकरले हालसम्म एक दर्जन बढी नाटक दिर्नेशन गरिसके । उनी चौकुस फिल्म प्रोडक्सन मार्फत छोटा चलचित्र निर्माणमा समेत व्यस्त छन् । यसका अलवा विभिन्न ओपन नाटक र सडक नाटकमा उनले काम गरिसकेका छन् । उनको जन्म धादिङमा भएको हो । उ मरेकी छैन नाटक मार्फत पोखरेली रंगकर्मीलाई नाटकको नयाँ स्वाद पस्कने योजना सहित उनी अगाडी बढ्दैछन् ।

नाटकमा रेवन राई, विनोद रसायली, सन्दिप पाण्डे, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, ज्योती हमाल, टिकाराम पौडेल, उज्वलराज ढकाल, गौरव ढकाल, रोसन ज्ञवाली आदी कलाकारले अभिनय गर्दैछन् । उनीहरु सबैले रंगकर्ममा लामो यात्रा तय गर्ने परिक्षाको रुपमा यो नाटकमा मेहनत गर्दैछन् ।

 

नाटक पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । पौष १४ गतेसम्म मञ्चन गरिने नाटक एक घण्टा १० मिनेट अवधिको हुनेछ । नाटक दैनिक १ र ४ बजे गरी दूई सो मञ्चन हुनेछ । आइतबार पोखराको पस्र्याङमा पुग्दा यो नाटकको रिर्हसल भइरहेको थियो । कलाकारले अभिनय गर्दै थिए भने निर्देशक चे शंकरले उनीहरुलाई सहजकिरण गर्दै थिए ।

नाटक मञ्चनको आयोजक न्यारेटर समुह कला र साहित्य सम्बन्धी गतिविधि गर्दै विद्यार्थी र युवालाई यसतर्फ आर्कषित गर्न क्रियाशिल बन्न खोजेको समुह हो । पछिल्लो समयमा नाटक सम्बन्धि गतिविधि पोखरामा बढिरहेको छ । पोखरामा थिएटर सञ्चालनमा आएपछि गतिविधि ह्वात्तै बढेको हो । त्यतिमात्र नभएर पुराना रंगकर्मीहरु पोखरा फर्किएर काम गर्न थालेका छन् । यसले नयाँ कलाकार सहित पुराना रंगकर्मीमा समेत उर्जा थपिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button