२ करोड ३० लाख लागतमा पोखराको सृजनाचोकमा आकाशे पुल निर्माण गरिने

दीननाथ बराल, पोखरा न्यूज – २७, मंसिर । पोखराकोे सृजनाचोकमा आगामी वैशाख महिनामा सकिने गरी आकासे पुल निर्माण हुने भएको छ । पोखरा महानगरपालिका र स्वः रवीन्द्र अधिकारीको सांसद विकास कोर्षबाट विनियोजित गरिएको रकमबाट आगामी वैशाख महिनामा सकिने गरी सृजनाचोकमा आकासे पुल निर्माण हुने भएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए ।

उनका अनुसार उक्त परियोजना २ करोड ३० लाख ११ हजारको लागतमा निर्माण हुन लागेको हो । स्व. रवीन्द्र अधिकारीको सांसद विकास कोर्षबाट विनियोजित गरिएको ५० लाख रुपैया समेत उक्त परियोजनामा लगानी भएको हो । के.एम.-जे.बि.एन.एस.पोखरा जे-भि, पोखरा-१७ ले उक्त परिजोजनाको जिम्मा लिएको हो भने गत जेठ २७ गते महानगरले १५ महिनामा सकिने गरी सम्झौता गरेको थियो । उक्त कम्पनीले स्टिल स्ट्रक्चरको संरचनामा चारै दिशामा जान मिल्ने गरी आकासे पुल निर्माण गरिने भएको मेयर जिसीले जनाए । पोखरामा स्मार्ट सिटिको अभियान अन्तर्गत उक्त संरचना पनि एक भएको मेयर जिसीको भनाई छ ।

पोखरामा ट्राफिक जामलाई मध्यनजर गदै महानगरपालिकाले सृजनाचोकमा पोखराकै पहिलो आकाशेपुल निर्माण सुरु गर्न लागेको हो । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड जाने, सभागृहचोक तथा पृथ्बीचोक, राष्ट्रबैंक तथा सिद्धार्थचोक जाने बाटोमा पोखराको पहिलो आकासे पुल निर्माण कार्य सुरु भएको पोखरा वडा नम्वर-८ का अध्यक्ष रुद्रनाथ बरालले बताए । इन्जिनियर बाबुराम भण्डारीले गत जेठ ५ गते नै उक्त परियोजनाको सम्झौता भैसकेकोले आन्तरिक धेरै काम सकिएसँगै अब आकासे पुल निर्माणको काम फिल्डमै सुरु भएको जनाए । सवैको साथ र सहयोग भएको खण्डमा आगामी वैशाख भित्र उक्त पुल निर्माण हुने उनले दाबी गरे ।

यसैबिच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार एक समारोहका बिच उक्त आकासे पुलको शिलान्यास गर्दै पर्यटकीय नगरी पोखरामा शान्त र सुरक्षाको लागि यस्ता आकासे पुलहरु पोखराका अन्य मुख्य चोकहरुमा समेत आवश्यक भएको बताए । गुणस्तरमा ध्यान दिदै निर्धारित मितिमा सकिने गरी उक्त परियोजना अघि बढाउन आग्रह गर्दै मुख्यमन्त्री गुरुङले आगामी ३ बर्ष भित्र पोखरालाई जोड्ने मुख्य सडकहरु चार लेनको बनाउनु पर्नेमा जोड दिए ।

उनले भने “ एक वर्ष नीति तथा कार्यक्रम बनाउदैमा समय बित्यो, यो बर्ष हामीले धेरै योजनाको डिपिआर तयार पार्दै छौं, अबको तीन बर्षमा पोखरा सहितका पोखरालाई जोड्ने मुख्य सडकलाई चार लेनको बनाउने तर्फ हाम्रो ध्यान केन्द्रित भएको छ, यसमा स्थानीय प्रदेश र संघिय सरकारले सहयोग केही ठाउँमा गरी सकेको अबस्था छ भने केहीमा सहयोग गर्नुपर्ने भएको छ । ” मुख्यमन्त्री गुरुङले पोखरामा पार्किङको मुख्य समस्या रहेको उल्लेख गर्दै पोखरामा पार्किङ स्थलहरुको आवश्यकता भएको जनाए ।

विदेशी राष्ट्र प्रमुख तथा उच्च ओहोदामा रहेका व्यक्तिको भ्रमणमा पोखरामा करोडौं रुपैया खर्चिएर गर्न नसकिने प्रचार प्रसार हुने गरेकोले बताउदै मुख्यमन्त्री गुरुङले यहाँको संरचना बनाउदा अन्तराष्ट्रिय शहरको जस्तै बनाउनु पर्नेमा जोड दिए । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरालाई स्मार्ट सिटि बनाउने योजना अनुसार आकासे पुल निर्माण भएको उल्लेख गरे । उनले भने “ पोखरा महानगरले स्मार्ट सिटि बनाउने अभियानलाई केहीले खिसिट्युरी गर्ने गरेका छन्, स्मार्ट सिटि रातारात हुनसक्दैन यस्तै कामले गरेर बनाउने हो । ”

प्रदेश सांसद विन्दुकुमार थापाले पोखरामा आकाशेपुल निर्माण पहिलो प्रयास भएकाले सवैको साथ र सहयोग आवश्यक भएको बताए । पोखरा महानगरले पुर्वाधार विकासमा विशेष जोड दिएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन्। मेयर जिसीको अध्यक्षतामा उक्त पुलको शिलन्यास कार्यक्रम सम्पन्न भएको थियो । निर्माण कम्पनीका असोक थापाले केही महिना कस्तो संरचनामा आकासे पुल निर्माण गर्ने भन्ने बिषयमा टुंगो लगाउन नसक्दा सम्झौता जेठमा गरे पनि काम भने अघि बढेन नसकेको बताए ।

उनका अनुसार सवै क्षेत्रबाट सडक डिभिजन, बिद्युत, स्थानीयवासीबाट सहयोग भएको खण्डमा आगामी वैशाख भित्र सकिने गरी उक्त पुल निर्माण हुन्छ अन्यथा धेरै कठिन पर्छ । पहिला आरसिसि (कंक्रिट) संरचनामा उक्त आकासे पुल निर्माण गर्ने तयारी गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button