पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा न्यूज – २५, पुष । पोखरामा गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप २०७६ फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश फुटबल संघ अन्तर्गत गण्डकी प्रदेश लिग संचालक कमिटिको आयोजनामा आउँदो माघ ४ देखि पोखरामा मुख्यमन्त्री कप २०७६ फुटबल प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पोखरा रंगशालाको फुटबल मैदान निर्माणको क्रममा भएकोले उक्त प्रतियोगिता भण्डारढिक सैनिक बस्तीमा आदर्श क्लबले संरक्षण गर्दै आएको फुटबल मैदानमा हुने गरी तयारी सुरु गरिएको एन्फाका केन्द्रिय उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कृष्ण बहादुर थापाले बताए । उनका अनुसार प्रतियोगितामा ८ टिमको सहभागिता हुने भएको छ । गण्डकी प्रदेशमा प्रदेश स्तरिय जिल्ला लिगमा च्याम्पियन क्लबहरु बीच प्रतियोगिता हुने भएको हो ।

बागलुङले यस बर्ष लिग संचालन नगरेकोले बागलुङ सहित अन्य तीन जिल्ला पर्वत, म्याग्दी र मुस्ताङमा एन्फासँग आबद्ध क्लबहरु नभएकोले गर्दा क्वालिफाइङ म्याचबाट उत्कृष्ट एक टिमलाई सहभागी गराउने भएको संयोजक थापाले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशका सबै जिल्लालाई समेट्न आग्रह गरेकाले आफुहरुले ४ वटा जिल्लाबाट एक उत्कृष्ट टिमलाई उक्त प्रतियोगितामा ८ औं टिमको रुपमा सहभागी गराउने भएको संयोजक थापाले जनाए । गण्डकी प्रदेशमा फुटबलको हब बनाउन, उमेर समुहको एकेडेमी स्थापना गर्न, प्रदेशको फुटबल टिम ११ निर्माण गर्न, प्रदेशका हरेक जिल्लामा टेक्नीकल सेन्टर निर्माणको लागि आवश्यक पहल गर्न पनि प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक थापाले बताए ।

प्रतियोगितामा कास्कीबाट जिल्ला लिग च्याम्पियन आदर्श क्लव, तनहुँको भिमाद युथ क्लव, लमजुङको त्रिवेणी युवा क्लव, गोर्खाबाट बौद्ध हिमाल, नवलपुरबाट गैंडाकोट खेलकुद समिति, मनाङबाट डाँफे युवा क्लव र स्याङजाबाट होराइजन क्लब प्रदेश लिगमा सहभागी हुने भएको प्रतियोगिताका प्रवक्ता रमेश केसीले जनाए । माघ १३ गतेसम्म चल्ने प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने भएको छ । प्रतियोगितामा विजेता टोलीलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैया साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ ।

प्रतियोगितामा सहभागी हुने टिमलाई टिम तयारी स्वरुप जनही ५० हजार रुपैया प्रदान गरिने भएको प्रतियोगिताका कोषाध्यक्ष मिलन गुरुङले बताए । एन्फा कास्कीका अध्यक्ष एवं संघ गण्डकीका उपाध्यक्ष समेत रहेका कोषाध्यक्ष गुरुङले संघ प्रदेशका अध्यक्ष सहितका केही पदाधिकारीलाई प्रतियोगिताको बारेमा आयोजित पत्रकार सम्मेलनमा बोलाउदा सहभागी नभएको गुनासो गरे । उक्त प्रतियोगितालाई सफल पार्न करिब १ करोड खर्च लाग्ने भएको संयोजक थापाले बताए ।

उनले भने “यस प्रतियोगितालाई सफल पार्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ मार्फत प्रदेशको सामाजिक विकास मन्त्रालयबाट २० लाख रुपैया उपलब्ध हुने भएको छ, थप २० लाख रुपैया समेत प्रदेश सरकारले उपलब्ध गराउने भएको छ ।” अन्य सहयोग विभिन्न संघ संस्थाबाट जुटाउने उनले जनाए ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष धरमसिंह लामिछाने, महासचिव दीपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष रामराज गुरुङ सहितका अन्य पदाधिकारीहरुको सहभागिता भएको थिएन्। संघ प्रदेश अध्यक्ष लामिछानेले प्रदेशले आयोजना गर्ने फुटवल प्रतियोगिताको संयोजक केन्द्रबाट आफुहरुसँग समन्वय नै नभई भएकोमा गुनासो गरे ।

उनले भने “पोखरामा हुने प्रदेश लिगमा हाम्रो कुनै संलग्नता हुदैन, संघ प्रदेश आयोजक भए पनि हामीसँग समन्वय गरेर प्रदेशको व्यक्ति संयोजक हुनु पर्नेमा केन्द्रबाट संयोजक छनौट गर्ने यसमा पनि हाम्रो आपत्ति छ ।” प्रतियोगिताका प्रवक्ता केसीले पत्रकार सम्मेलनमा सहभागी हुन संघ प्रदेशका अध्यक्षलाई समेत बोलाइएको जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button