अब पोखराबाटै एचआईभी संक्रमितको जीवाणु परीक्षण हुने

दीननाथ बराल , पोखरा न्यूज -०२, माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले परिणाम आउने गरी स्वास्थ्य क्षेत्रमा सुधार गरेरै छाड्ने बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखराले बिहिबार आयोजना गरेको स्वागत तथा भाइरल लोड सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री ढकालले स्वास्थ्य क्षेत्र अन्यको तुलनामा धेरै संवेदनशील क्षेत्र भएकोले यहाँ धेरै बेथिती रहेको उल्लेख गर्दै सुधारको अनुभुतिका परिणाम आउने गरी सुधार गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

स्वास्थ्य क्षेत्रका कहाली लाग्दो समस्या रहेको उल्लेख गर्दै मन्त्री ढकालले त्यसलाई सफा गर्नुको कूनै विकल्प नभएको जनाउदै समायोजनमा खटाएको ठाउँमा कर्मचारी जानुको विकल्प नभएको बताए । मन्त्रालयमा सात हजार जतिको समायोजनको समस्या रहेको चर्चा गर्दै उनले दुई हजारको समाधान गरिएको बताए । मन्त्री ढकालले चिकित्सकहरुले दुई वर्ष पहाडी तथा हिमाली जिल्लामा गएर सेवा गर्नुको विकल्प नभएको बताए ।

मन्त्री ढकालले मन्त्रालयभित्रबाटै शुद्धीकरणको अभियान चलाउने पनि बताए । शुरुआतमा मन्त्रालयको बेथितिलाई समाधान गर्ने बताएका मन्त्री ढकालले शुद्धीकरणका लागि प्रतिष्ठान तथा सङ्घका अस्पताल रहेको जनाए । उनले भने “ आर्थिक अनियमितता र भ्रष्टाचारको विरासतमा रमाउने प्रवृत्तिले गर्दा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विर अस्पताल लगायतका अस्पतालहरु थला परेका छन् । ” वीर अस्पतालमा ४६ करोड लागतमा किनिएका दुई वटा मेसिन लामो समयदेखि जनताको सेवामा उपयोगमा आउन नसकेको र हाल विग्रन्छ कि भनेर सुरक्षाकर्मीको सुरक्षामा राखिएको जानकारी प्राप्त भएको बताउँदै उनले त्यसमा अनियमितता रहेको उल्लेख गरे ।

पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताए । सङ्घमा समायोजन भएका चिकित्सकहरु अब पनि खटाएको ठाउँमा हाजिरी नभए मन्त्रालयमा फिर्ता पठाई उनीहरुमाथि कारवाही गर्न उनले आग्रह गरे ।  प्रतिष्ठानका सिनेटर सदस्य आनन्दराज मुल्मीले अन्य प्रदेशका जनतालाई समेत सेवा दिने गरी अस्पतालको सेवालाई तुलनात्मक रुपमा उत्कृष्ट बनाउन आग्रह गरे । प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले पोष्ट ग्राजुएट (पीजी)को १७ सिटका लागि प्रवेश परीक्षाको लागि आवेदन दर्ता शुरु भएको बताउँदै आगामी दिनमा नर्सिङ, विडिएस लगायतका विषयको समेत अध्यापन गराउने योजना भएको बताए ।

अस्पतालका निर्देशक सहप्राध्यापक डा.अर्जुन आचार्यले दरवन्दी अुनसार विशेषज्ञ चिकित्सक अभाव, बिरामीहरुको भीडभाड बढेको लगायत अस्पतालका समस्याका बारेमा जानकारी गराएका थिए । एचआइभी एड्सबाट सङ्क्रमितहरुको शरीरमा रहेको भाइरलको मात्रा जाँच गर्ने(भाइरल लोड) सेवा अस्पतालले सञ्चालनमा ल्याएको छ । यस अघि यो सेवा लिनको लागि काठमाण्डौंमा पठाएको रिपोर्ट आउन एक महिनासम्म लाग्ने गरेको भए पनि अब पोखरामा एक हप्तामै आफुहरुले रिपोर्ट दिने निर्देशक डा. आचार्यले बताए ।

एचआईभी संक्रमितले औषधि खानु पूर्व र औषधि लिन थाले पछि भाइरल लोड(बिजाणु) को मात्रा कति छ त्यसका आधारमा उनीहरुलाई औषधि खुवाइने गरेको उनले जनाए । उनका अनुसार प्रतिष्ठानमा करिब एक हजार जनाले यो सेवा लिने भएका छन् । निशुल्क रुपमा उक्त सेवा पोखरामा पहिलो पटक सुरु गरिएको निर्देशक डा. आचार्यले जनाए । स्वास्थ्य मन्त्रालय मातहतको एचआइभी तथा यौन रोग नियन्त्रण महाशाखा (एनटीएएचसी)ले डेढ वर्ष पहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सो सेवाका लागि आवश्यक दुई करोड जति मूल्य पर्ने मेसिन उपलव्ध गराएको बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button