अन्नपूर्ण पदमार्गमा उद्धारका लागि सोमबार कोरियन रेस्क्यू टिमसहितको टोली जाने तयारी

दीननाथ बराल, पोखरा न्यूज – ५, माघ । अन्नपूर्ण पदमार्गमा सम्पर्कविहिन भएकाको खोजि कार्यका लागि सोमबार कोरियन रेस्क्यू टिम सहितको एक टोली हेलिकोप्टरबाट त्यसतर्फ जाने तयारी गरेको छ ।

प्रतिकुल मौसमका कारण आइतबार हिमपहिरो गएको स्थलमा हेलिकोप्टर समेत जान नसकेको र  सोमबार कोरियन रेस्क्यू टिम  सहितको टोली पठाउने  तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

उनका अनुसार सम्पर्कविहिन भएका कोरियनका आफन्तसहित कोरियन राजदुत समेत पोखरा आएकोले सोमबार कोरियाको हिमालयन रेस्क्यू टिम, टानका प्रतिनिधि र प्रहरी सहितको टोली हिमपहिरो भएको स्थलमा हेलिकोप्टर मार्फत जाने भएको छ ।

शनिबार हिमपहिरो भएको क्षेत्रमा धेरै पटक हेलिकोप्टरबाट अवलोकन गर्दा मानिसहरुको कुनै संकेत नदेखिएकोले पुनः सोमबार जाने प्रजिअ केसीले बताए ।

ट्रेकिङ एजेन्सी एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको एक टोली सडक मार्ग तथा पैदल हुदै अन्नपूर्ण पदमार्गमा पर्ने देउराली लगायतको हिमपहिरो भएको क्षेत्रमा पुगे पनि आइतबारसम्म बेपत्ता व्यत्तिको कुनै संकेत भेटाउन सकेको छैन ।

हिमपहिरोको कारण बेपत्ता भएका ३ नेपाली, ४ कोरियन सहित ७ जनाको खोजि कार्यमा लागेको टानको एक टोली हिमपहिरो गएको स्थलमा  पुगेपनि बेपत्ता भएकाहरुको हालसम्म कुनै संकेत नभेटिएको टान पोखराले जनाएको छ ।

विजय केसीको नेतृत्वमा पर्यटक प्रहरी, स्थानीय सहित ८ जनाको टोली देउराली क्षेत्रमा पुगेको टान पोखराका अध्यक्ष हरिबहादुर भुजेलले बताए । हिमपहिरो गएको क्षेत्रमा हाल पुनः हिउँ परेको र  करिब ६ मिटर जस्तो बाक्लो हिउँ जमेकोले सो क्षेत्रमा जान आउन कठिन भएको घटना स्थलमा पुगेका केसीले जनाएका छन् ।

सम्पर्कविहिन हुने कोरियन पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको टान पोखराका सचिव जिवनराम सापकोटाले बताए । कोरियनहरु काठमाडौँको ट्रिप नेपाल माउन्टेन गाइड नामक कम्पनीबाट टिम्स शूल्क काटेर अन्नपूर्ण बेसक्याम्प तर्फ गएका थिए। त्यसैगरी नेपालीहरुमा मिन बहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार हालसम्म सम्पर्कविहिन भएको सचिव सापकोटाले पोखरा न्यूजलाई बताए ।

अन्नपूर्ण पदमार्गमा जाने पर्यटकहरुको एकीन तथ्याङक राख्ने निकाय नहुँदा हाल कति आन्तरिक तथा बाह्य पर्यटक हिमपहिरोमा परे त्यसको एकिन तथ्याङक नभएको सचिव  सापकोटाले बताए । सम्पर्कविहिन भएका कोरियनका आफन्तहरु समेत  पोखरा आइसकेको उनले जनाए । सम्पर्कविहिन हुने नेपालीका आफन्तहरुको एक टोली जिप मार्फत मक्यु पुगेको बताइएको छ ।

हिमपहिरोमा परी घाइते भएका दुई जनालाई सकुशल उद्धार गरेको अध्यक्ष भुजेलले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका छन् । उनका अनुसार एक चाइनिज नागरिक ज्याङ योङ र एक जना पदप्रदर्शक सहयोगी जगदिश खत्रीलाई टानको टोलीले उद्धार गरि पोखराको फेवासिटि हस्पिटलमा उपचार समेत गराएको छ ।

अन्नपूर्ण पदमार्ग क्षेत्रको हिमालयन देखि माथि देउरालीको बीच करिब ३ हजार २ सय मिटर उचाईमा रहेको हिङकुकेभ वरपर हिमपहिरो गएको हुदा उक्त हिमपहिरोमा सम्पर्क विहिन व्यक्तिहरु परेको हुन सक्ने अध्यक्ष भुजेलले बताए । उनले भने “ हामीले शनिबार करिब एक सय ४० जनालाई हेलिकोप्टर मार्फत उद्धार गरौं, आइतबार उक्त क्षेत्रमा पुनः हिउ परेकोले सो स्थानमा हेलिकोप्टर समेत जान नसेन । ”

शनिबार पोखराका विभिन्न हेलिकोप्टर कम्पनी, टान पोखराको पहलमा अन्नपूर्ण आधार शिविरमा जाँदै गरेका करिब १ सय ४० जनाको उद्धार गरिएको छ । विभिन्न ठाउँबाट उद्धार गरी केहीलाई छुम्रुङमा र केहीलाई पोखरासम्म ल्याइएको प्रजिअ केसीले जनाए ।

त्यसैगरी शनिबार पोखरामा नेपाल सहित ७ देशका ६४ जनालाई अन्नपूर्ण पदमार्गबाट पोखरामा होलिकोप्टर मार्फत ल्याइएको छ । विश्वकै उत्कृष्ट पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्ग हेर्दा जति राम्रो र सुन्दर छ प्रतिकुल मौसम हुदा जोखिम पनि उत्तिकै हुने गरेको टानका पूर्व अध्यक्ष दीपकराज अधिकारीले बताए ।

जोखिम ठाँउमा कम्तिमा साइरेनहरुको व्यवस्था गर्न सकेको खण्डमा यस्ता घटना  पश्चात उद्धार गर्न सहज हुने उनले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button