अमेरिका तर्फ हिँडेका २ हजार व्यक्ति पक्राउ

पोखरा न्यूज – ०९, माघ । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २ हजार भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ ।

नेशनल इन्स्टिच्युट अफ माइग्रेसन (आईएनएम) का अधिकारीहरूका अनुसार पक्राउमा परेका व्यक्तिहरुमा एक हप्ता अगाडि होन्डुरस छाडेका “२०२० काराभान”मा आबद्ध व्यक्तिसहित अन्य ठाउँबाट देशभित्र प्रवेश गरेका धेरै व्यक्ति रहेका छन् । यी व्यक्तिहरु मेक्सिको हुँदै संयुक्तराज्य अमेरिका प्रवेश गर्ने योजनामा थिए ।

आइएनएमले करिब १ हजार ३ सय  व्यक्तिलाई टाबास्को र अरु ८ सय जना चियापास क्षेत्रमा पक्राउ गरिएको जनाएको छ । बुधबार, मेक्सिकोका दुई दक्षिणी राज्यहरूबाट सरकारी हवाई जहाज र बसहरू मार्फत ४ सय ६० जना होन्डुरसका नागरिकलाई उनीहरुकै देश फिर्ता पठाइएको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ ।

ग्वाटेमालाको टेकुन उमान हुँदै क्याराभानमा संलग्न सयौं व्यक्तिले सोमबार बिहान सीमावर्ती सुसिएट नदी पार गर्ने प्रयास गरेका थिए । उनीहरुले मेक्सिकोका अधिकारीहरु समक्ष संयुक्तराज्य अमेरिका प्रवेशका लागि यात्रा अनुमतिको माग गरेका थिए ।

मेक्सिकोका अधिकारीहरूले जवाफ नदिएपछि उनीहरु जबर्जस्ती नदी तर्न थालेका थिए । यस मौसममा नदी त्यति गहिरो छैन । तर मेक्सिकोको सेनाले उनीहरुमाथि तितरबितर बनाउन र फिर्ता गर्न अश्रुग्यास प्रहार गरेको थियो ।

सेनाको कारबाहीका बाबजूद करिब ५ सय  व्यक्ति अवैधानिक रूपमा मेक्सिको प्रवेश गर्न सफल भएका थिए, यद्यपि तीमध्ये करिब ४०० लाई पछि पक्राउ गरिएको थियो ।

मध्य अमेरिकी राष्ट्रहरु एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरसमा व्याप्त गरिबी र हिंसाका कारण भागेका हजारौं व्यक्ति सुरक्षित भविश्यको खोजीमा मेक्सिको पार गर्दै संयुक्तराज्य अमेरिकातिर लागेका हुन् । मेक्सिकोको सेनाले निरुत्साहित गरेका कारण ग्वाटेमालाका व्यक्तिहरु स्वदेश फर्कन राजी भएका छन् ।

आप्रवासीको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै गत वर्ष निर्वाचित मेक्सिकोका राष्ट्रपति  आन्द्रेस   म्यानुएल लोपेज ओब्राडोरले प्रवासीहरु दक्षिणी मेक्सिकोमा रहन चाहेमा ४ हजार जनालाई रोजगारी दिने प्रस्ताव गरेका थिए  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा कडाई गर्न निरन्तर दबाब दिएपछि मेक्सिकोले आप्रवासीका सम्बन्धमा कडा कदम चाल्न थालेको हो । अमेरिकाले आफ्नो देशतर्फ अनधिकृत रुपमा प्रवेश गर्न चाहनेमाथि कडा कदम नचाले मेक्सिको विरुद्ध व्यापार शुल्क बढाउने धम्की दिएको थियो । अमेरिकाको आग्रहमा राष्ट्रपति ओब्राडोरले देशको सिमानामा करिब २६ हजार सेना खटा ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button