कोरोना भाइरसको जीनकोड पत्ता लागेसँगै खोप तयार पारिँदै

पोखरा न्यूज – ११ , माघ । चिनियाँ वैज्ञानिकले कोरोना भाइरसको जीनकोड फेला पारेसँगै अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था तथा विश्वविद्यालयहरु भाइरसको खोप तयार पार्न लागिपरेका छन् ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ, बायोटेक कम्पनी मोडर्ना इन्कर्पोरेसन, नोभाभ्याक्स, अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालय लगायतले भाइरलको खोप तयार पार्न प्रयासहरु थालेको बताइएको छ । जेनेटिक कोड पत्ता लगाइएपछि भाइरस संक्रमित व्यक्तिको स्याम्पल बिना नै खोप तयार पार्न सकिन्छ ।

चिनियाँ वैज्ञानिकले तीन दिनमै जीनकोड पत्ता लगाएकाले अब छिटै नै खोप तयार पारेर त्यसको परीक्षण पनि शुरु हुने अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले जनाएको छ ।

वैज्ञानिकहरुले थुप्रै स्रोतमार्फत विभिन्न तरिका अपनाएर खोप निर्माण गर्दा कुनै एक प्रभावकारी खोप छिटै पत्ता लाग्ने बताएका छन् । उनीहरुले यसअघि देखिएका मर्स र सार्स जस्ता रोगविरुद्ध खोप तयार पारिसकेकाले त्यस्तै प्रक्रिया र प्रविधिमार्फत सफलता हात पार्ने सम्भावना ज्यादा रहेको बताएका छन् । केही एन्टीबडिजहरुले भाइरसलाई निस्तेज पार्न सफलता प्राप्त भइसकेको पनि वैज्ञानिकहरुले जनाएका छन् । भाइरसलाई निस्तेज पार्न सके मात्रै पनि मानव शरीरले आफै एन्टीबढी उत्पादन गरेर रोगविरुद्ध लड्न सक्छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको हाल १० भन्दा बढी देशमा देखा परिसकेको छ । नेपालसहित थाइल्यान्ड, भियतनाम, सिङ्गापुर, जापान, कोरिया, ताइवान, अमेरिका, फ्रान्स लगायत देशमा देखा परेको भाइरसबाट ४१ जनाको मृत्यु भइसकेको छ भने १ हजार २ सय ८७ जनामा भाइरसको संक्रमण फेला परिसकेको छ । कोरोना भाइरस सर्पबाट मानवमा सरेको अनुमान गरिएको छ ।

यस अघि सन् २००३ मा यस्तै स्वासप्रस्वास सम्बन्धि रोग सार्सबाट ८ सय भन्दा बढीको मृत्यु भएको थियो । त्यसबेला सार्स रोगको भाइरसको जिनेटिक कोड पत्ता लगाउन मात्रै वैज्ञानिकलाई २० महिना लागेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button