अल्लोका कपडाको माग पूरा गर्ने मुस्किल

पोखरा न्यूज – १२ , माघ ।  दैलेखको  नौमुले गाउँपालिका–५ मा रहेको  मालिका अल्लो प्रशोधन उद्योगलाई बजारको मागलाई पूरा गर्न मुस्किल परेको छ ।

गतवर्षदेखि रु १३ लाखको लागतमा नौमुले गाउँपालिकामा सञ्चालनमा आएको सो उद्योगमा आधुनिक गुणस्तरीय प्रशोधन उपकरणको अभाव र धागो उत्पादनमा गति नहुँदा बजारको मागलाई धान्न नसकेको हो । काठमाडौँ, भक्तपुर, पोखरालगायतका शहरदेखि अल्लोका कपडाको माग बढिरहेको सञ्चालक पदमबहादुर खडकाले जानकारी दिए । उनले भने,“गाउँघरकै मागलाई पूरा गर्न अप्ठ्यारो छ, बाहिरको मागको कुरा नै नगर्नुहोस् ।”

उत्पादित अल्लोको कपडालाई प्रतिमिटर रु ५ सय पर्दछ । उद्योगमा दक्ष कर्मचारीको अभाव रहेको छ । अधिकांश महिलाले उद्योगमा काम गरिरहेका छन् । स्थानीय बीना रोक्कामगरले उद्योगमा काम पाउँदा घरखर्च चलाउन सजिलो भएको र श्रीमान्को कमाइमा भर पर्नुपर्ने अवस्था नरहेको बताए ।

उद्योगबाट एकवर्षमा १ सय  अल्लोका कोट बिक्री भएको सञ्चालक खड्काले जानकारी दिए । रु सातदेखि आठ हजारसम्म कोटको मूल्य रहेको छ ।  कर्णाली प्रदेश सरकारले कर्मचारी, जनप्रतिनिधिले अब आफ्नै प्रदेशमा उत्पादन भएका कपडाको प्रयोग गर्ने जनाएको छ । उक्त कार्यक्रमले उद्यमीलाई थप टेवा पुग्ने विश्वास गरिएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button