विद्यालय नाटक महोत्सव सम्पन्न

राजाराम पौडेल, पोखरा न्यूज – १४ , माघ । माघ ६ गते सोमबारबाट पोखरामा आयोजित महानगरस्तरिय विद्यालय नाटक महोत्सव मंगलबार सकिएको छ । नौ दिने नाटक महोत्सवमा कुल नौ वटा नै नाटक मञ्चन गरियो ।

माघ ६ गते महोत्सवको पहिलो दिन नाटक ‘कोहि किन बरबाद होस्’ मञ्चन भयो । पोखरा थिएटरको प्रस्तुतीमा थिएटरमा अभिनय कला सिकेका फरक-फरक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समाबेश गरी विजय मल्लले लेखेको यो नाटक परिवर्तनको निर्देशनमा मञ्चन गरिएको थियो ।

दोस्रो दिन विष्णुराज तिमिल्सिनाको लेखन, समिर मौरतीको निर्देशनमा तयार भएको नाटक ‘ऐना’मा हिल पोइन्ट माध्यामिक विद्यालयका विद्यार्थी कलाकारको अभिनय रह्यो । तेस्रो दिन प्रतिभा माध्यामिक विद्यालयका विद्यार्थीको अभिनयमा नाटक ‘गलबन्दी’ मञचन भयो । विमला श्रेष्ठको लेखन रहेको नाटकलाई हरि प्रसाद खनालले निर्देशन गरे ।

डायमण्ड बोडिङ स्कुलका विद्यार्थीको अभिनय रहेको नाटक ‘मुना मदन’ को चौथो दिन मञ्चन भयो । महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको यो नाटकलाई अनिल गुरुङ र नारायण पराजुलीले संयुक्त निर्देशन गरे । यो गीति नाटक थियो ।  महोत्सवको पाँचौ बालकल्याण माध्यामिक विद्यालयका विद्यार्थीले ‘मेरो बचपनको साथी’मा अभिनय गरे । सुदिप बास्तोलाको लेखन तथा पुष्पराज प्रसाद गुरुङ निर्देशन यो नाटकमा थियो ।

छैटौँ दिन सरुभक्त श्रेष्ठले लेखेको नाटक ‘आधा मरेका सन्तानहरु’लाई प्रगती माध्यमिक विद्यालयका विद्यार्थीले मञ्चन गरे । नाटकलाई अञ्जु दाहालले निर्देशन गरिन् ।  राइजिङ स्टार एकेडेमीका विद्यार्थीले नाटक ‘आह्वान’ मार्फत सातौ दिन आफ्नो अभिनय कला देखाए । जनक पराजुली लेखन र उत्तम पोखरेलको निर्देशनमा यो नाटक तयार भएको थियो ।

निश्चल विमलको लेखन, मनोज अधिकारीको निर्देशनमा ‘डाँडाखेत’ नाटकमा भानुभक्त आवासिय माध्यामिक विद्यालयका विद्यार्थीले आठौँ दिन अभिनय गरे ।  एस.ओ.एस हर्मन माइनर स्कूल,गण्डकीका विद्यार्थीको नाटक ‘मित्रतामा धोका’ महोत्सवको अन्तिम दिन मञ्चन भयो । नाटक आशीका केसीको लेखन तथा धुव्रराज पौडेलको निर्देशनमा तयार भएको थियो । ‘मित्रतामा धोका’ नाटकलाई कक्षा ८ मा अध्ययनरत आशिका केसीले लेखेकी थिइन् ।

महोत्सवमा मञ्चन गरिएका अधिकांश नाटक बाल मनोविज्ञानमा आधारित थिए ।  ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ पोखरा थिएटरले महानगर स्तरिय विद्यालय नाटक महोत्सव २०७६ आयोजना गरेको हो । माघ ११ गते देखि १४ गतेसम्म संवाद कार्यक्रम समेत भएको थियो ।

पोखरा थिएटरले यसअगाडी पनि विभिन्न किसिमका राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवहरु सफलताका साथ आयोजना गरिसकेको छ । यसपालीको नाटक महोत्सव अपेक्षा गरेको भन्दा बढी सफल भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button