८ दिनदेखि बन्द पिएनमा पठनपाठन सुचारु

पोखरा न्यूज – २१ , माघ । एक साता भन्दा लामो समयदेखि अवरुद्ध भएको पृथ्वीनारायण क्याम्पसको पठनपाठन आजदेखि खुलेको छ । समान कामको समान ज्याला माग गर्दै पढाउन छोडेर शिक्षकहरु आन्दोलनमा उत्रेपछि क्याम्पस विगत ८ दिनदेखि बन्द थियो ।

सोमबार बेलुका त्रिभुवन विश्वविद्यालयबाट आएका ३ सदस्यीय कार्यदल र विद्यार्थी संगठनको रोहबरमा बसेको बैठकले विवाद मिलाएको हो । ‘हिजो राती १० बजेसम्म वार्ता गर्यौ,’ अनेरास्ववियुका कास्की जिल्ला अध्यक्ष विवेक देवकोटाले भने, ‘हामीसहित टियुले पठाएको ३ सदस्यीय कार्यदल पनि थियो ।’

आन्दोलनरत आंशिक शिक्षकहरुलाई मासिक वेतनअनुसारको तलब दिने सहमतिपछि पढाई सुरु भएको उनले सुनाए । त्रिभुवन विश्वविद्यालयले करारमा नियुक्ति दिएका शिक्षकहरुले पाउने तलब बराबरको तलब दिने सहमति पछि पठनपाठन सुरु भएको उनले बताए ।

क्याम्पसका २ सय १६ आंशिक शिक्षकमध्ये पार्ट टाइमको लोड अनुसार करार शिक्षकले पाएको सेवा सुविधा पाउने उनले सुनाए । ‘उनीहरु करार टिचर पनि होइनन्,’ उनले भने, ‘पार्ट टाइम पनि भएनन् । क्याम्पसले नियुक्त गरेका शिक्षक भए । मासिक तलब पाउने भए, दैनिक ज्यालादारी हट्यो, यो खालको सहमति भयो ।’

आंशिक शिक्षक बिष्णु गौतमले आफूहरुको माग प्रति त्रिभुवन विश्वविद्यालयबाट आएको कार्यदल सकारात्मक रहेको बताए । दैनिक ज्यालादारीमा काम गर्ने देशै भरिका शिक्षकहरुको समस्या समाधान गर्ने आश्वासन दिएको उनले सुनाए । ‘त्यसमा पनि पिएनलाई फस्ट प्रायोरिटीमा राख्छु भन्दाभन्दै त्यो मिल्दैन।’ उनले भने, ‘यो समस्या जसरी पनि चाँडो समाधान गर्छु भनि सकेपछि हामीले पढाउन सुरु गर्यौ ।’ जाडो बिदा, चुनाव र सेमेस्टर वाइजका परीक्षालाई मध्यनजर गर्दै एक महिना भित्रमा समस्याको समाधान गर्ने बताएपछि सहमतिमा आएको उनले सुनाए ।

क्याम्पस प्रमुख चन्द्र बहादुर थापाले आंशिक शिक्षकहरुलाई तत्काल मासिक ज्यालादारी दिने सहमति पछि पठनपाठन सुरु भएको बताए । आगामी सिनेटका पहिलो बैठकमा करार नराख्ने निर्णय फुक्का गरेर करारमा लै जाने सहमति पछि विवाद साम्य भएको उनले सुनाए ।

क्याम्पसमा १० हजार बढी विद्यार्थी अध्ययनरत छन् । २०६३ देखि पिएनमा आंशिक शिक्षकहरुले अध्यापन गर्न सुरु गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button