दीननाथ बराल, पोखरा न्यूज – ०६ ,फागुन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पिकअप भ्यान दुर्घटना हुँदा विमानस्थलमा कार्यरत एक मजदुरको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
कोठाका सामान सार्ने क्रममा सोमबार बेलुका करिब ८ः३० बजेको समयमा आयोजनाको ड्रेनमा प्रदेश नम्बर ३ ०१०२२ च ०६६१ नम्बरको पिकअप भ्यान दुर्घटना भएर सोही भ्यानले किच्दा स्याङजा बिरुवाका २७ बर्षीय यामबहादुर मगरको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले पोखरा न्यूजलाई बताए । मृतक मगरको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
दुर्घटनामा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । गाडी दुर्घटनामा झापाका ३० बर्षीय संजय उदिम, शिव पौडेल र मुकेश गर्बुजा घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बढी चोट लागेका घाइते उदिम खतरामुक्त रहेको र अन्य दुई सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
आयोजनाको चाइनिज कन्ट्रयाक्टर सिएएमसीको सब कन्ट्रयाक्टरको रुपमा ड्रेनमा काम गर्दै आएका ३७ बर्षीय गाडी चालक चाउ हाइनलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
रातिको समयमा सामान सार्ने क्रममा आयोजनाको ड्रेनमा गाडी फसेपछि पिकअप भ्यानमा पछाडी बसेका मजदुरहरु डरले हाम फालेका थिए । हाम फालेका मजदुरहरुलाई पिकअपले किचेको बताइएको छ ।